नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, महासंघले आकस्मिक बैठक बोलायो

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ ।

बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्’ उनले भने ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ । सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन् ।

महासंघले आकस्मिक बैठक बोलायो

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।

बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।  नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए ।

बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *