स्ट्यान्डर्ड चार्टर्डद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न
काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) नेपालले पहिलोपटक नेपालमा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनलाई सुदृढ बनाउने, अनुपालन मापदण्ड सुधार गर्ने र विश्वव्यापी उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले बिहीबार र शुक्रबार काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको हो । कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए। उद्घाटन कार्यक्रममा उनले यस्ता कार्यक्रम नेपालमा सञ्चालन गर्नुको आवश्यकता औल्याउँदै स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहलको प्रशंसा गरे।
साथै उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यशालामा एसियान र दक्षिण एसियाका १५ देशका १३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रमुख व्यक्तित्वहरू थिए। दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा बैंकिङ र डिजिटल क्षमताको प्रगति, जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ तथा आतंकवादी वित्तीयकरणविरुद्धका उपाय, सीमापार कारोबारका चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयसम्बन्धी विषयमा व्यापक छलफल भएको थियो। कार्यशालामा चानी सिओङ, क्रिस फ्लेमिङ, सेर्हाने भिक्टर र जयेश कदमलगायत क्षेत्रीय विशेषज्ञहरूले प्रशिक्षण गरेका थिए।