नेचुरल सहकारी १८औं वर्षमा प्रवेश
काठमाडौं । बौद्ध टुसालमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिकोत्सवको अवसरमासदस्य, अग्रज नेतृत्व, सञ्चालक, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । संस्थामा आवद्ध सदस्यहरुको विश्वास, माया अनि भरोषाले सवल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न संस्था सफल भएको संस्थाकी अध्यक्ष शर्मिला अमात्यले जानकारी दिईन । सहकारीहरुको भीडमा नेचुरल सहकारीले बेग्लै पहिचान बनाउन सफल जुन सदस्यहरुकै कारण सफल भएको उनको भनाई छ । संस्थाद्वारा प्रतिवद्धतामा भनिएको छ, ‘सदस्यता वृद्धि, बचत वृिद्ध, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्दछ । स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबारसँगै प्रविधिमैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु संस्थाले गर्दै आएको छ ।’ सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालना हामी सदैव प्रतिवद्ध रहेको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिए । ‘हामी सदस्यहरुको बचत र लगानीको सुरक्षाको ग्यारेन्टी गर्दै संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन दिने छैनौं’, पाठकले भने, ‘१८ वर्षे यात्राका सहयात्री आदरणीय सेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति, कर्मचारी वर्गमा हार्दिक आभार प्रकट गर्दछौं । आगामी दिनहरुमा पनि स्तरिय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ केही हजारबाट सुरु भएको नेचुरलसँग १६ करोड ४१ लाख रुपैयाँ सेयर पुँजी पुगेको छ । संस्थामा १४ हजार ७५ जना सेयर सदस्य आवद्ध छन् । संस्थाबाट १ हजार २ सय ९९ जनाले कर्जा लिएका छन् । संस्थाको जगेडा कोषमा १२ करोड २९ लाख रुपैया छ भने अन्य कोषमा १३ करोड ६१ लाख रुपैयाँ रहेको छ । संस्थागत पुँजी १२ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाका प्रबन्धक घनश्याम नेपालले जानकारी दिए । संस्थाले १ अर्ब ९४ करोड बचत संकलन गरेको छ भने १ अर्ब ९४ करोड नै लगानी गरेको प्रबन्धक नेपालले बताए । संस्थाको कुल सम्पत्ति २ अर्ब ८५ करोड पुगेको छ ।