मैले सेबोनमाथि कमिसन मागेको आरोप लगाएको छैन, गलत प्रचार भयो : इप्पान अध्यक्ष कार्की
काठमाण्डौं । हाइड्रो व्यवसायीहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले साधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डले कमिसन मागेको आरोप आफुले नलगाएको बताएका छन्। छलफलमा सहभागी केहि साथीहरुले आइपीओ अनुमती पाउन बिभिन्न ठाउँबाट कमिसनको माग भएको सुनाएपनि आफुले कहीं कतै यस्तो आरोप नलगाएको उनले बताए। उनले भने, हिजो डाकिएको हाइड्रो व्यवसायीहरुको छलफलमा आइपीओ अनुमति दिनलाई केहि व्यक्तिहरुले सेबोन अध्यक्षको हवाला दिएर कमिसनको माग गरेकोबारे कुरा उठेको थियो तर म कहाँ यस्तो कुरा आएको पनि छैन र मैले त्यस्तो आरोप लगाएको पनि छैन। केहि संचारमाध्यममा आफुलाई कोट नै गरेर लेखिएकोप्रति असन्तुष्टि जनाउदै कार्कीले भने, मैले कुनै संचारमाध्यमसंग पनि यो बारे बोलेको छैन, तर मैले भनेको झैं गरेर गलत प्रचार गरियो, मैले कहिँ कतै आरोप लगाएको छैनू। कार्कीकाअनुसार, हिजो अहिले धितोपत्र बोर्डमा आइपीओ को अनुमतीको लागि पर्खाईमा रहेका हाइड्रोव्यवसायीहरुको छलफल थियो, त्यहाँ केहि व्यक्तिले आफुहरुलाई आइपीओ अनुमतीको लागि कमिसन मागिएको सुनाएका थिए, तर सुनाउने व्यक्तिबारे केहि कुरा भएन। त्यस्तै, आफुहरुले धितोपत्र बोर्डले आइपीओ निष्काशनको लागि अनुमति दिएन भनेर अख्तियार दुरुपयोग अनुसन्धान जाने निर्णय गरेको र सोहिअनुसार आज उक्त निर्णय अख्तियारलाई बुझाउने तयारी रहेको उनले बताए। पछिल्लो २४ महिनादेखि हाइड्रोपावरहरुले आइपीओ निष्काशनको अनुमति नपाउँदा अहिले आइपीओ को पाइपलाइनमा रहेका हाइड्रोहरुले ब्याज बापत झन्डै ४ अर्ब रुपैयाँ तिर्नुपरेको इप्पानको गुनासो छ। अबको केहि समयमा आइपीओ निष्काशनको अनुमति नपाउँदा हाइड्रोपावर कम्पनीमाथि थप एक अर्ब रुपैयाँको आर्थिक भार थपिने व्यवसायीको गुनाँसो छ।