सरकारले नीति तथा कार्यक्रममार्फत काँग्रेसलाई पनि एमालेकरण गर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत काँग्रेसलाई पनि एमालेकरण गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताए । दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले काँग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो । ‘अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला काँग्रेसलाई एमालेकरण गर्दिनुभएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ, ‘उनले भने । एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा काँग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार गरिसकेको उनले बताएका हुन् ।

काँग्रेस र एमाले आगामी निर्वाचनमा के फरक अवधारणा लिएर जाने हो भन्ने चासोको विषय रहेको पनि श्रेष्ठले बताए । ‘मलाई त चिन्ता के लाग्छ भने यी दुई दल आगामी निर्वाचनमा के एजेन्डा लिएर जनता कहाँ जान्छन् ? सैद्धान्तिक, व्यवहारिक हिसाबले दुई फरक दल बनेनन्, अब नीतिमा पनि ऐक्यबद्धता भइरहेको छ, ’उनले भने ।

सांसद श्रेष्ठले मौद्रिक नीति आउने बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *