होण्डाको १ प्रतिशत ब्याजदरमै बाइक र स्कुटर
काठमाण्डौं । होण्डा नेपालले १ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । कम आधार दर रहेको राष्ट्रिय वाणिज्य बैंकको कर्जाको लागत ५ प्रतिशतभन्दा माथि रहेका बेला होण्डाले कसरी १ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउँछ भनेर चासोका साथ हेरिएको छ । होण्डा कम्पनीका अनुसार नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूलाई १ प्रतिशत ब्याजदरमा मोटरसाइकल (बाइक) र स्कुटर उपलब्ध गर्ने गरी फाइनान्सको अफर ल्याएको हो । जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा होण्डाका जुनसुकै मोडलका बाइक र स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । तर, फाइनान्सको सुविधा भने ४० प्रतिशत मात्रै रहेको कम्पनीको भनाइ छ ।‘जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा ल्याएको हो ।
डाउनपेमेन्ट ६० प्रतिशत गर्नुपर्ने हुन्छ । बाँकी रहेको ४० प्रतिशत कर्जाका लागि ब्याजदर १ प्रतिशत हुन्छ,’ कम्पनीको कस्टमर केयर सेन्टरले भन्यो, ‘यो चाहिँ नयाँ वर्षको विशेष अफर हो ।’ उक्त सुविधाका लागि कम्पनीले सकार हायर पर्चेज कम्पनीसँग सम्झौता गरेको छ । जुन होण्डाको आफ्नै फाइनान्स कम्पनी हो । ४० प्रतिशत फाइनान्सको सुविधा १२ महिनाभित्र तिरिसक्नु पर्ने कम्पनीले जनाएको छ । ‘होण्डा कम्पनीका १८० सीसीसम्मका जुनसुकै बाइक र स्कुर खरिद गर्दा यो सुविधा उपलब्ध हुनेछ । सबै मोडलमा पाइनेछ । योभन्दा माथिका लागि नर्मल फाइनान्सअन्तर्गत उपलब्ध हुनेछ,’ कम्पनीको विभागले भन्यो, ‘उपत्यकाबाहिरका सबै सोरुममा यो सुविधा उपलब्ध छैन । सीमित सोरुममा मात्रै यो अफर उपलब्ध छ ।’