अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ । एबिएसले मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको सङ्ख्या छ हजारले वृद्धि भएको बताएको छ ।
काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।
एबिएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसङ्ख्या वृद्धि दरभन्दा बढी हो ।