नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको साँचो सुम्पिएको हो । मन्त्रिपरिषद् बैठक अघि सोमबार नै बसेको सिफारिस समिति बैठकले गभर्नर नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सरकारले पौडेल सम्मिलित गभर्नर सिफारिसको लागि गठित सिफारिस समितिको सदस्य बनाएको थियो । गभर्नरको नाममा कांग्रेस र एमालेबीच लामो रस्साकस्सीपछि पौडेललाई गभर्नर बनाउने सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजिनामा दिए । यता मन्त्रिपरिषदले पुरानो सिफारिस समिति विघटन गर्दै डा। पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ सिफारिस समिति गठन गरेको थियो । गभर्नर छान्ने जिम्मा पाएका पौडेल अन्तिममा आफैं गभर्नर बनेका छन् । २४ चैत २०८१ मा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पुरा भएसँगै गभर्नर रिक्त थियो भने केन्द्रीय बैंक कायम मुकायम गभर्नरको भरमा थियो । नेपाल राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ । गभर्नर अधिकारीको कार्यकाल सकिएको करिब डेढ महिनापछि मात्रै केन्द्रीय बैंकले नयाँ गभर्नर पाएको हो ।
अब नयाँ नोटमा समेत हस्ताक्षर गर्ने पौडेलले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री शेरबहादुर देउवा रहँदा पौडेल २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र इतिहासका ज्ञाता हुन् । डा. पौडेलका करिब दुई दर्जन अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । डा। स्वर्णीम वाग्ले राष्टिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी विज्ञ सल्लाहकार थिए । पछि डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पौडेल वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम पनि गरे । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्क्ले) बाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा प्राध्यापक हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ । यसअघि डा. पौडेलले सानिमा बैंकको सञ्चालक समिति सदस्य, विश्वबैंकको लागि अल्पकालीन परामर्शदाता, सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालक सहिसकेका छन् । उनले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री, र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारको रूपमा पनि कार्य गरेका छन् । साथै, सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा कार्यरत थिए । यसैगरी, इसिमोड बोर्ड अफ गभर्नरका अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार रहिसकेका छन् । २०७९को निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभाको टिकट पाएपछि योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिएर उनि चुनाव लड्न गएका थिए । तर, २०७९ को निर्वाचनमा पराजित भएपछि पौडेलले सक्रिय प्राध्यापन पेशामा लागेका थिए । उनि हाल काठमाडौं विश्वविद्यायको स्कुल अफ म्यानेजमेन्टको एसोसिएट प्रोफेसर छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *