अर्थतन्त्रको संकट र मुलुकको अपेक्षा
गभर्नरको नियुक्ति
नेपालको समसामयिक आर्थिक परिदृश्यले गम्भीर चुनौतीहरू प्रस्तुत गरिरहेका छन् । निरन्तर बढिरहेको व्यापार घाटा, घट्दो वैदेशिक मुद्रासञ्चिति, मुद्रास्फीतिको चाप, र विगत केही वर्षदेखि बैंकिङ प्रणालीमा देखिएको असन्तुलनले आर्थिक स्थायित्वलाई कमजोर बनाइरहेको छ । यस्तै परिस्थितिमा नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा डा. विश्वनाथ पौडेलको आगमन भएको छ। उनको नियुक्तिसँगै मुलुकले केवल व्यक्ति परिवर्तनमा होइन, प्रणालीगत सुधारमा आशा राखेको छ। डा. पौडेलको नियुक्ति कुनै सामान्य प्रशासनिक परिवर्तन मात्र होइन ।
यो त्यस्तो मोडमा भएको निर्णय हो, जहाँ अर्थतन्त्र गम्भीर अवस्थामा उभिएको छ। बजारमा विश्वास गुम्दै गएको छ । युवा पुस्ताको भविष्यप्रति आशंका बढ्दो छ र रोजगारीका अवसरहरू संकुचित भइरहेका छन्। यस्तो अवस्थामा राष्ट्र बैंकको नेतृत्वमा दूरदृष्टियुक्त, विवेकशील र नीतिगत निर्णाय देखाउन सक्ने व्यक्तिको आवश्यकता थियो । जसको अपेक्षा डा. पौडेलबाट राष्ट्रले गरेकोछ। उनको विगतको भूमिका र कार्यसम्पादनले नीतिगत समन्वय, समष्टिगत आर्थिक विश्लेषण र दीर्घकालीन सोचमा दक्षता देखाएको छ । राष्ट्रिय योजना आयोगमा रहँदा उनले समावेशी विकास, संरचनागत सुधार र सार्वजनिक लगानीलाई प्राथमिकतामा राखेर काम गरेका थिए। यिनै गुणहरू अब राष्ट्र बैंकको गभर्नरको रूपमा आवश्यक छन्, जहाँ मौद्रिक नीतिको माध्यमबाट आर्थिक गतिशीलता कायम गर्नु उनको प्रमुख जिम्मेवारी हुनेछ । मौद्रिक नीति कुनै सामान्य दस्तावेज मात्र होइन। यो मुलुकको आर्थिक रक्तसञ्चारलाई नियमन गर्ने संवेदनशील संयन्त्र हो। वर्तमान अवस्थामा यसलाई सावधानीपूर्वक सन्तुलनमा राख्नुपर्ने आवश्यकता छ। एकातर्फ महँगी नियन्त्रण गर्नु छ, जसको असर विशेष गरी मध्यम र निम्न आय वर्गमा परेको छ । अर्कोतर्फ उत्पादनशील क्षेत्रमा लगानीको प्रवाहलाई रोक्न नहुने अवस्था छ । ब्याजदरको समायोजन, तरलताको व्यवस्थापन र ऋणको प्राथमिकता निर्धारणमा लचिलो र स्पष्ट दृष्टिकोण देखाउनुपर्ने आवश्यकता छ । शेयर बजारको धराशायी अवस्था आर्थिक मात्र नभई सामाजिक समस्या पनि बन्दै गएको छ ।
लगानीकर्ताहरूको आत्मविश्वास गुमिसकेको छ। राष्ट्र बैंक प्रत्यक्ष रूपमा शेयर बजार नियामक नभए पनि वित्तीय प्रणालीको स्थायित्वमा यसको प्रभाव पर्छ । बैंकहरूबाट प्रवाहित शेयर धितो कर्जाको अनियन्त्रित वितरण, मूल्य हेराफेरी, र भित्री सूचना दुरुपयोग जस्ता विषयमा गभर्नरले स्पष्ट नीतिगत धारणा लिनु जरुरी छ । उनीबाट लगानीकर्ताहरूले पारदर्शिता, अनुशासन र नियमनको संयोजनमार्फत बजारमा स्थायित्व फर्काउने अपेक्षा गरेका छन्।विदेशी मुद्रा सञ्चिति घट्नु, रेमिट्यान्समा निर्भरता बढ्नु र निर्यात क्षेत्र कमजोर हुनु नेपालको दीर्घकालीन अर्थतन्त्रको ढाँचाको कमजोरी हो । राष्ट्र बैंकले यस सन्दर्भमा सरकारसँग नीतिगत समन्वय गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नुपर्छ। डा. पौडेलको अनुभव र अन्तरदृष्टिले वित्तीय कूटनीति, वैदेशिक लगानी र क्षेत्रीय व्यापार विस्तारमा मार्गदर्शन दिनसक्ने क्षमता राख्नुपर्छ। नेपालको ग्रामीण तथा सिमान्तीकृत क्षेत्र अझै पनि औपचारिक वित्तीय प्रणालीबाट टाढा छ। वित्तीय समावेशिता राष्ट्र बैंकको प्राथमिक एजेन्डा बन्नुपर्छ। डिजिटल बैंकिङ, मोबाइल भुक्तानी प्रणाली र ग्रामीण बैंकिङ विस्तार गरेर समावेशी आर्थिक विकास सुनिश्चित गर्न सकिन्छ। डा. पौडेलले यसको आवश्यकता विगतमा नीति निर्माण तहमै महसुस गरेको हुनुपर्छ । त्यसैले यस क्षेत्रमा उनले व्यावहारिक सुधार ल्याउन सक्ने आशा गरिएको छ। बैंकहरूबीच हाल देखिएको प्रतिस्पर्धात्मक ब्याजदरको समस्या, साना उद्यमका लागि ऋणको अभाव, र लगानीमैत्री वातावरणको अभाव जस्ता कुराले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको छ ।
राष्ट्र बैंकको प्रमुखका रूपमा डा. पौडेलको दायित्व यो सन्तुलनलाई सुधार गर्नु महत्त्वूर्ण हुनेछ । बैंकिङ प्रणालीको नियमन मात्रै होइन, त्यसको मनोविज्ञानको व्यवस्थापन गर्नु पनि अबको नेतृत्वको परीक्षण हुनेछ । धेरैपटक नेपालमा नियुक्ति हुने व्यक्तित्वहरूले राजनीतिक दबाब, ब्यूरोक्रेसीको जडता, र आत्मसुरक्षाको कारणले नीति कार्यान्वयनमा निर्भीकता देखाउन सकेका छैनन् । तर, अहिलेको समय यस्तो हो, जहाँ नीतिगत उदासीनता वा ढिलाइको मूल्य समग्र राष्ट्रले चुकाउनुपर्ने हुन्छ । गभर्नरको हैसियतले उनले राजनीतिक निर्णयभन्दा माथि उठेर, केवल तथ्य र राष्ट्रिय हितको आधारमा पनि निर्णय लिनुपर्ने हुनसक्छ । त्यसका लागि पारदर्शिता, जवाफदेहिता, हिम्मत र संवाद अपरिहार्य हुन्छ। राष्ट्र बैंकलाई जनउत्तरदायी संस्थाका रूपमा स्थापित गर्नुपर्ने वर्तमान आवश्यकता उनको कार्यकालले कति पूरा गर्न सक्छ भन्ने कुराले मुलुकको आर्थिक भावी दिशा तय गर्नेछ। शिक्षा, अनुभव र क्षमता यी तीन आधारमा डा. पौडेल उपयुक्त छनोट मानिए । तर, संस्थागत सुधार र सार्वजनिक विश्वास आर्जन भने नेतृत्वको चरित्रमा निर्भर गर्छ। नीति निर्माण मात्र होइन, त्यो नीति कार्यान्वयन गराउने मनोबल, संयमता र इमानदारीले नै गभर्नरको मूल्य निर्धारण गर्छ। वर्तमान नेपाल यस्तो मोडमा छ, जहाँ नीति निर्माताले हरेक शब्द सोचेर बोल्नुपर्छ र हरेक निर्णयले हजारौं जनताको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । अन्ततः, राष्ट्र बैंक केवल एक आर्थिक नियामक संस्था मात्र होइन । यो मुलुकको आर्थिक आत्मविश्वासको निकाय पनि हो। त्यसको नेतृत्व अब केवल प्रशासकले गर्न सक्दैन । एक गंभीर सोचयुक्त, दूरद्रष्टा र जनउत्तरदायी व्यक्ति हुनु जरुरी छ ।
डा. विश्वनाथ पौडेलले त्यसको योग्यता राख्छन् र त्यो योग्यता उनले परिणाममा देखाउँछन् भन्ने जनअपेक्षा रहेको छ । देश संकटमा छ, जनअपेक्षा उच्च छ यो बेला। सम्झनुपर्छ इतिहासले हरेक निर्णयलाई मूल्याङ्कन गर्नेछ भोलि । यदि उनले यो अवसरलाई राष्ट्रको दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित गर्न र रूपान्तरणकालागि उपयोग गर्न सके भने, उनको कार्यकाल केवल पाँच वर्षे सेवा अवधि मात्र नभएर भविष्यले स्मरण गर्ने एक परिवर्तनकारी युग बन्नसक्छ । नत्र ’फर्मल’ मात्र हुनेछन् ।
(लेखक नेका झापाका सूचना, संचार तथा प्रचार प्रमुख हुन् )