रास्वपाले राजसंस्था फर्काउने आन्दोलनलाई कुनै पनि किसिमको समर्थन नगर्ने
काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनमा सहकार्यको प्रस्ताव राखेको छ ।
समितिका संयोजक नवराज सुवेदीले कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्, जसमा जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनमा सहकार्यका लागि औपचारिक अनुरोध गरिएको छ । सुवेदीले रास्वपाका सभापति रवि लामिछानेले हालको व्यवस्थाभित्र निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरेको, रास्वपा स्वयं पनि वर्तमान राजनीतिक संरचनाबाट सन्तुष्ट नरहेको तर्क गर्दै साझा असन्तुष्टिलाई आन्दोलनको आधार बनाउन प्रस्ताव गरेका छन्।

उक्त प्रस्ताव आएसँगै रास्वपाले प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनमा कुनै पनि किसिमको सहभागिता नहुने मात्र होइन, नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारेको छ ।
अर्यालका अनुसार पत्र रास्वपा कार्यालयमा पुगेको भए पनि त्यो प्रस्तावको कुनै औपचारिक छलफल वा बहस पार्टीभित्र नभएको र गर्न आवश्यक पनि नभएको बताएका छन् ।