पर्यटन प्रवर्द्धन गर्न पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आवश्यक छः अध्यक्ष ढकाल
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र पर्यटन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टाको आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालको लागि ब्रान्डको रूपमा विकास गर्नु पर्नेमा जोड दिए ।
“हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ । बिआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा उनको छ । “लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नको लागि उपयुक्त छ । आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौ ।