सुुधारगृहमा रहेका बालबालिकालाई १८ वर्ष पूरा भएपछि कारागार पठाउन सक्ने

काठमाडौं । बाल सुधारगृहमा रहेका बालबालिका १८ वर्ष पूरा भएपछि कारागार पठाउन सक्ने गरी कानुन संशोधन गर्न लागिएको छ  । बाल सुधारगृहमा राखिएका बालबालिका १८ वर्ष कटेपछि कारागार पठाउने गरी बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको हो । बालबालिकासम्बन्धी ऐनको दफा ४३ मा कानुनको विवादमा सुधारगृहमा रहेका बालबालिका १८ वर्ष कटेमा बाँकी अवधिसम्म सुधारगृहभित्रै अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्ने व्यवस्था थियो । “बाल सुधारगृहमा रहेका बालबालिकाको सो गृहमा रहनु पर्ने अवधि बाँकी हुँदाको अवस्थामा निजको उमेर १८ वर्ष पुगेमा निजको बानीव्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सीप तथा शिक्षाको निरन्तरता लगायतलाई ध्यानमा राखी बाँकी अवधिसम्मका लागि बाल सुधारगृहमा अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्नेछ,” दफा (४३)को ४ मा उल्लेख छ । तर, अहिलेको विधेयकमा कारागार पठाउन सकिने गरी सरकारले व्यवस्था गर्न लागेको हो । “बाल सुधारगृहमा रहनुपर्ने अवधि पूरा नहुँदै त्यस्तो गृहमा रहेको बालबालिकाको उमेर १८ वर्ष पूरा भएमा र निजमा सकारात्मक सुधार आएको नदेखिएमा वा निजको व्यवहारको कारणले बाल सुधारगृहमा राखी राख्न नसकिने भएमा सम्बन्धित बाल सुधारगृहको प्रमुखले त्यस्ता व्यक्तिलाई कारागार पठाउन बाल सुधारगृह रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गर्न सक्नेछ,” दफा ४३ संशोधनका लागि उल्लेख गरिएको छ । विधेयकमा सुधारगृहमा रहेर १८ वर्ष पूरा भएको व्यक्तिले फौजदारी कसुरजन्य कुनै कार्य गरेमा निजलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा लैजान र अनुसन्धान भइ अभियोजन भएमा धरौटी तथा जमानत माग गर्न तथा कैदमा राख्न कारागार पठाउन सकिने व्यवस्था थप गरिएको छ ।

कसुरजन्य कार्यको अभियोग लागेको बालबालिका १८ वर्ष उमेर पूरा भएपछि फेला परेमा वा बाल अदालतमा हाजिर हुन आएमा प्रचलित कानुनबमोजिम अदालतले धरौटी वा जमानत माग गर्न वा मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न सकिने जनाइएको छ । बालिगहरूलाई सुधारगृहमा राख्दा तोडफोडको अवस्था पनि आएको थियो । ०८० भदौ ३ गते मध्यपुरथिमि नगरपालिका–२, सानोठिमीस्थित बाल सुधारगृहमा रहेका युवकको मृत्यु भएको थियो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् । भदौ ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधारगृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी २२१ जना फरार भएका थिए । बाल सुधारगृह तोडफोडको योजनाकार बाल सुधारगृहभित्रको बालिग रहेको खुलेको थियो । ०८० असोजमा डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहमा रहेका बालबन्दीको दुई पक्षबीच झडप भएको थियो । जहाँ रूपन्देहीको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको ज्यान गएको थियो । यस्ता घटनाले गर्दा सुरक्षा चुनौती बढेको आवाज उठ्दै आएको थियो । सोही विषयलाई मध्यनजर गर्दै १८ वर्ष पुगेपछि कारागार पठाउन सकिने प्रस्ताव गरिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *