हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

एजेन्सी । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

जसले ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको छ । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण उक्त प्रतिष्ठित संस्थालाई कडा कारवाही स्वरुप सो निर्णय गरेको हो । यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न सक्दैन र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ । गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले हार्भर्डले गत महिना गृह सुरक्षा विभागले माग गरेको विदेशी विद्यार्थीहरूको आचरण सम्बन्धी अभिलेखहरू बुझाउन अस्वीकार गरेकाले विश्वविद्यालयको विद्यार्थी तथा आगन्तुक आदानप्रदान कार्यक्रम रद्द गर्न निर्देशन दिएका थिए ।

यस निर्णयको असर हार्भर्डको अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये करिब एक चौथाइमा पर्ने समाचारमा उल्लेख गरिएको छ । यो निर्णयको घोषणापछि विद्यार्थीहरुलमा अत्यधिक तनाव र अन्योल छाएको छ ।

यता हार्वर्डले भने विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको उक्त कदमलाई गैरकानूनी भनेको छ । ‘हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू छन् । हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ हार्वर्डले भनेको छ । यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *