जेष्ठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न एमालेका नेताबीच जिम्मेवारी बाँडफाँड
काठमाडौं । नेकपा एमालेले गणतन्त्र दिवसका अवसरमा जेष्ठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूबीच जिम्मेवारी बाँडफाँड गरेको छ ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरूको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँड गरिएको हो । महासचिव शंकर पोखरेलका अनुसार जनसंगठनका अध्यक्ष, ईन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेलामा नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचलान गर्नका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरुलाई दिइएको छ ।
जसअनुसार सुदुरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीका जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याल र कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ भने स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ ।
गणतन्त्र दिवसका दिन जेष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचानसहित उपस्थित हुन निर्देशन दिइएको छ ।