विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको छ -अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् ।
आज (शुक्रवार) अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ । विकासमा असीमित आकाङ्क्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मितव्ययिता कायम राख्दै चालु खर्च सन्तुलनमा राख्ने प्रयास सरकारले गरेको उनले बताए ।
बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुसम्म नै कुर्नु नपर्ने गरी व्यवस्था गरिएको उनले बताए । आयोजना तयारीको काम आजै खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको समेत उनले बताए । २५ करोडभन्दा माथिका आयोजनाको ड्यासबोर्डमा राख्नुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । अनुदान लागतबारे सोच्नुपर्ने अवस्थामा अधिकतम सीमा ५० प्रतिशतको सीमा कायम गरिएको उनले बताए ।
सङ्घीय ढाँचामा सन्तुलिन बजेट बनाउन सकुन् भन्नेमा ध्यान दिइएको उनले बताए । सामाजिक सुरक्षा खर्च थप व्यवस्थित गरिएको र पछाडि परेको समुदायलाई प्राथमिकता दिइएको बताए । भन्सार बिन्दुमा अग्रिम आयकर हटाइएको भन्दै उनले कर हट्दा र रहँदा राजस्वमा पर्ने प्रभावबारे विश्लेषण गरेर हटाइएको बताए । यो बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार, निजी लगानी बढ्ने, रोजगारी बढ्ने, आयोजना समयमै सकिने, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको दाबी छ ।