चाँगुनारायण नगरपालिकाले आफ्नै स्रोतबाट स्तरोन्नति गर्दै भक्तपुर-नगरकोट सडक
काठमाडौं । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर-नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी भक्तपुर-नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्ने गरी बोलपत्र आह्वान गर्दै १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड रुपैयाँ पुर्याउँदा पनि विभिन्न बाहान गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । नगर प्रमुख खत्रीले भने, ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्र नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी अब आसप्लान्ट पिच कालोपत्र गर्न बेस बिछाउने काम सुरु गरेका छौँ ।’ सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भोगेकाले यो सडकलाई पूरा गर्न भक्तपुर(नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको उनले बताए । केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैंले कालोपत्र गर्न लागेको नगर प्रमुख खत्रीले बताए । उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्ने गरी छलफल भएको छ ।
त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हौं ।’ शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबल मिलाएर ग्राभेल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताए । एक महिनाभित्र सडकका सबै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । त्यसैगरी बागमती प्रदेश सरकारको ५९ करोड रुपैयाँको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौंको साँखु ९ किलोमिटर सडक कालोपत्र सुरु भएको छ