कलाकार घनश्याम गौतमको निधन
काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली ।
चर्चित टिभी सिरियल ‘मेरी बास्सैमा गौतम ‘नक्कली प्रचण्ड पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् । डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले सामाजिक संजालबाट शोक व्यक्त गरेका छन् । गौतमको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।