प्रधानमन्त्री ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङमा
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् ।
अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरूको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन्। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।
आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।