‘सरकार र यातायात व्यवसायीबीचको सहमति जनताको हितमा छैन’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति जनताको हितमा नभएको स्पष्ट पारेका छन् ।
यातायात व्यवसायीहरूसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको उनको भनाई छ । मंगलबार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा उपाध्यक्ष ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो । निश्चित वर्गको फाइदाका निम्ति सरकारले यो सम्झौता गरेको छ।’ गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो।
उपाध्यक्ष ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए । उनले तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे ।