भाटभटेनी समूहको भैरहवामा अर्बौंको अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास

काठमाडौं । नेपालकै अग्रणी व्यापारिक समूह भाटभटेनीले औद्योगिक क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाको घोषणा गरेको छ । बुधबार समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित उद्योगको औपचारिक शिलान्यास गरे । उद्योग सञ्चालनसँगै करिब १ हजार २०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ, जसमा स्थानीय जनशक्तिको प्रमुख प्राथमिकता रहनेछ । यसले क्षेत्रीय आर्थिक सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए अनुसार, यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा महत्त्वपूर्ण फड्को मारेको छ।

नेपालमा सुधारोन्मुख औद्योगिक वातावरणको यो उत्कृष्ट उदाहरण बन्नेछ । उद्योगमा प्रयोग हुने मेसिनरी तथा प्रविधि पूर्णरूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनेछ । एक मेगावाटभन्दा बढी क्षमताको सौर्य ऊर्जा प्रणाली, ब्याट्री भण्डारण, श्रमिकका लागि स्वास्थ्य सुरक्षासहितको स्वच्छ कार्य वातावरण पनि सुनिश्चित गरिने पौडेलले जानकारी दिए । तयारी पोशाक उत्पादनमा केन्द्रित रहने उद्योगले भाटभटेनी स्टोरमार्फत घरेलु बजारमा वितरण गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यातको लक्ष्य लिएको छ । यससँगै भाटभटेनी समूहले स्थानीय उत्पादन, बजारीकरण र रोजगारी वृद्धिको आफ्नो रणनीतिक यात्रालाई थप बलियो बनाउने विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *