प्रतिनिधि सभाको बैठक आज बस्दै, सत्ता र विपक्षी दलहरुबीच सहमति नजिक
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । पछिल्ला दिनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच भएका छलफलमा संसद्को अवरोध खुलाउने विषयमा सहमति नजिक पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुंगाउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए ।
विपक्षी दलहरु गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरुका प्रछिल्ला अभिव्यक्तिहरुले स्पष्ट गरेको छ । अब संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गरिने तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् तर भिजिट भिसा प्रकरण हाल अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन नहुने सत्ता पक्षको अडानमा उनीहरु लगभग सहमत भएको बुझिएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाई छ । आइतबार नै सहमति हुने भनिएको भएपनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ ।