उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको डब्ल्युटिओ नेतृत्वसँग छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय संगठनहरूसँग नेपालको लगानी र बजार पहुँचबारे छलफल गरेका छन्। स्विट्जरल्यान्डको जेनेभामा भएको ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अन्तरराष्ट्रिय रोजगारदाता संगठन (आइओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस र विश्व व्यापार संगठन (डब्ल्युटिओ) का उपमहानिर्देशक झाङ शियाङछेनसँग छुट्टाछुट्टै छलफल गरिएको महासंघ सचिवालयले जानकारी गराएको छ। आइओईका महासचिव सान्तोससँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाबारे बताएका थिए। पर्यटन, जलविद्युत र सूचना प्रविधि क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै उनले भारत र चीनजस्ता ठूला बजारको बीचमा रहेको नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त गन्तव्य भएको बताए। अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। डब्ल्युटिओका उपमहानिर्देशक झाङसँगको भेटमा ढकालले नेपालले अन्तर्राष्ट्रिय व्यापारमा भोगिरहेका चुनौतीबारे कुरा उठाएका थिए। सन् २०२६ मा अल्पविकसित देशको सूचीबाट माथि उक्लने प्रक्रियामा नेपाललाई शुल्क र कोटामुक्त बजार पहुँच कायम राख्न डब्ल्युटिओले गरेको निर्णयको स्वागत गर्दै उनले प्राविधिक सहायता र लचकताको आवश्यकता रहेको बताए। उनले विकसित देशको कृषि अनुदानले नेपाली किसानलाई प्रतिस्पर्धामा कठिनाइ भएको, भन्सार प्रक्रिया र गैर(शुल्कीय अवरोधले निर्यातमा समस्या भएको, र राजस्व घट्दा पूर्वाधार, स्वास्थ्य, र शिक्षामा लगानी गर्न चुनौती भएको बताए। साना उद्यमलाई स्तरोन्नतिका प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा वकालत गर्न आग्रह गरे। उपमहानिर्देशक झाङले नेपालको आर्थिक विकास र व्यापार प्रवर्द्धनमा डब्ल्युटिओको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *