नाइमाको पहिलो एक्स्पोको स्टल बाँडफाँड सम्पन्न

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आगामी नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको कमलपोखरीस्थित संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममार्फत २०८२ साउन २१ देखि २५ गते (२०२५ अगस्ट ६ देखि १०) सम्म भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको तयारी औपचारिक रूपमा अगाडि बढेको हो। कार्यक्रममा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका गरी कुल ५० ब्रान्डको उत्साहजनक सहभागिता रहने स्पष्ट भएको छ। कुल ४८ स्टलमध्ये २१ वटा स्टल चार पाङ्ग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पाङ्ग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको नाइमाले जनाएको छ। नाइमा अध्यक्ष रितु सिंह वैद्यले सबै स्टल बुक भइसकेको जानकारी दिँदै, नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त उत्साहित छौं। अब हामी प्रदर्शनीको कार्यान्वयनमा केन्द्रित हुँदैछौं, भनेर बताइन।

नाइमाले नेपालमा मोबिलिटी क्षेत्रको समग्र सुधार, रणनीतिक सञ्जाल निर्माण र नीतिगत पैरवी गर्ने उद्देश्यसहित आफ्नो मोबिलिटी एक्स्पो आयोजना गर्न लागेको हो। यसपटकको एक्स्पोले परम्परागत प्रदर्शनीको ढाँचामा नयाँपन थप्ने नाइमा ले विश्वास गरेको जनाएको छ। उपभोक्ताहरू तथा अटो व्यवसायीसामु सवारी साधनलाई प्रभावकारी र आकर्षक ढङ्गले प्रस्तुत गर्न यो एक्स्पो महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। एक्स्पोको समग्र व्यवस्थापन ग्रीड स्पेस सोलुसन प्रा।लि।ले गर्नेछ। सहभागी ब्रान्डहरूमा चार पाङ्ग्रे सवारीतर्फ बिवाईडी, हुन्डाई, किया, निसान, टोयोटा, भोल्क्सवागन लगायत छन् भने दुई पाङ्ग्रे तर्फ होन्डा, बजाज, केटीएम, रोयल एनफिल्ड, टिभिएस, सुजुकी लगायत सहभागी छन्। व्यावसायिक सवारीतर्फ डोङफेङ, फ्यारिजन, किङलोङ, सनलोङ लगायतका ब्रान्डहरू छन्। नाइमाले सबै सहभागी ब्रान्डप्रति आभार व्यक्त गर्दै सम्पूर्ण दर्शकलाई प्रदर्शनीमा उपस्थित भई अवलोकन गर्न निमन्त्रणा दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *