ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले चार अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले हस्ताक्षर गरे । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भइ निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट तीन वर्षभित्र सम्पन्न हुनेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।