नेपाल प्रहरीको तलब–पोसाक वर्षभरका लागि सुनिश्चित : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीतर्फ उल्लेखनीय वृद्धि गरिएको जानकारी दिएका छन्।
अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यसपटकको बजेटले विगतमा देखिने तलब, पोसाक र रासनका लागि नौ महिनापछि आउने जटिलता अन्त्य गर्ने दाबी गरे। “अब एकमुष्ट बजेट छुट्याइएको छ, वर्षभर समस्या नहुने गरी व्यवस्था मिलाइएको छ,” उनले भने। अब नेपाल प्रहरीका कर्मचारीले वर्षभरको तलब, पोसाक र रासनका लागि झन्झट व्यहोर्नु पर्ने छैन ।
गृहमन्त्रीका अनुसार अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति सुरक्षा कायम गर्न आवश्यक सामग्री, र गाडीहरूका लागि समेत बजेटमा व्यवस्था गरिएको छ। उनले प्रविधि प्रयोगमार्फत अनुसन्धानलाई अझ पारदर्शी र भरपर्दो बनाउनु पर्नेमा जोड दिए। उनले थपे, “यो पटकको बजेट तुलनात्मक रूपमा सुखद छ, परिणाम पनि त्यसअनुसार देखिनुपर्छ।”