प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई आग्रह
काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।
धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुशन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन् । नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट पारे ।
“दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधिनता बचाएका हुन् ।” विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओलीले भने, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।”
उनले इतिहासका तथ्यहरुले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको धारणा राखेका छन् ।