वाणिज्य बैंकको नाफा ४८ अर्ब, नबिल र ग्लोबलको नाफामा उछाल

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरूले करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरूले बैशाख मसान्तसम्मको अवधिमा जम्मा ४७ अर्ब ७९ करोड रुपैयाँ मुनाफा कमाएका हुन्। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले घटेको हो। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद मुनाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। यसरी कर्जा प्रवाहमा कमी, ऋण असुलीमा समस्या र खराब कर्जा बढ्नु मुनाफा घट्नुका प्रमुख कारण रहेका छन्।
नबिल बैंक सबैभन्दा अगाडि
नाफाको हिसाबले नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले समीक्षा अवधिमा पाँच अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २.५९ प्रतिशतले वृद्धि हो।
ग्लोबल आइएमईको उल्लेखनीय वृद्धि
ग्लोबल आइएमई बैंकले पाँच अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा चार अर्ब १२ करोड रुपैयाँ थियो। यस आधारमा बैंकको मुनाफा २९.८९ प्रतिशतले वृद्धि भएको हो।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको उल्लेख्य छलाङ
सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म पाँच अर्ब दु्ई करोड आठ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले तीन अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३३.१४ प्रतिशतले बढेको छ। यसैगरी चालु आर्थिक वर्षको वैशाखनसम्म एभरेष्ट बैंकले तीन अर्ब ९० करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकले तीन अर्ब २८ करोड ८७ लाख रुपैयाँ, एनएमबि बैंकले दुई अर्ब ६२ करोड ५४ लाख रुपैयाँ र प्राइम बैंकले दुई अर्ब ५८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा ३०.९७ प्रतिशत, नेपाल बैंकको ४५७.१२ प्रतिशत र एनएमबि बैंकको ५.५६ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १९.८५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ३४ करोड ६४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले दुई अर्ब एक करोड ११ लाख रुपैयाँ र प्रभु बैंकले दुई अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड र प्रभुको नाफा घटेको छ भने लक्ष्मी सनराइज र सिद्धार्थ बैंकको बढेको छ। त्यस्तै चालु आर्थिक वर्षको वैशाखसम्म सानिमा बैंकले एक अर्ब ८७ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७७ करोड चार लाख रुपैयाँ र कृषि विकास बैंकले एक अर्ब ७३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा बैंकको नाफा बढ्दा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको घटेको छ। समीक्षा अवधिसम्म नेपाल एसबीआई बैंकले एक अर्ब ३८ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, सिटिजन्स बैंकले एक अर्ब १८ करोड १५ लाख रुपैयाँ, हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा माछापुच्छ्रे बैंकको नाफा बढेको छ भने नेपाल एबीआई बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको घटेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *