गोल्छा ग्रुपका दुई कम्पनीले ९ महिनामा गरे साढे १७ अर्ब रुपैयाँ बढीको व्यापार

काठमाडौं । गोल्छा ग्रुपको दुई कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी र हुलास अटो क्राफ्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १७ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ र हुलास अटो क्राफ्ट प्रालिले ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा गत वर्षको व्यापारको तुलनामा सन् २०२५ को ९ महिनाको अवधिमा उच्च व्यापार गरेको पाइएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनी बजाज ब्राण्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधनको आधिकारिक बिक्रेता हो । साथै, दुई पांग्रे सवारी साधन केटीएम, ट्र्यिम्प र सर्भो लुब्रिक्यान्टको पनि आधिकारिक बिक्रेता हो । कम्पनीले उक्त सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ३ सयभन्दा बढी शाखा छन् । गोल्छा ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा १९ जनाको स्वामित्व छ । कम्पनीका अध्यक्ष शेखर गोल्छाको ५३.८ प्रतिशत र अन्य १८ जना सदस्यको ३.७५ प्रतिशत अर्थात् त्यसभन्दा कम स्वामित्व रहेको छ ।

इक्रा नेपालले कम्पनीको विवरण सार्वजनिक गर्दै वाच विथ नेगेटिभ इम्प्लिकेशनको संकत दिएको छ । कम्पनीको व्यापार बढ्दै जाँदा कम्पनीको वित्तीय क्षमतामा सुधार आएको रेटिङमा उल्लेख गरिएको छ। कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ९३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सन् २०२५ मा व्यापारमा सुधार हुँदै गएको जनाएको छ । गत वर्षको तुलनामा चालु आवमा कम्पनीको व्यापार ४० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ग्रुपको अर्को कम्पनी हुलास अटो क्राफ्टले चालु आवको ९ महिनाको अवधिमा गत आवभन्दा बढीको व्यापार गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५ अर्ब १३ करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । तर, चालु आवमा व्यापार बढ्न जाँदा ९ महिनाको अवधिमा ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षमा व्यापार उल्लेख्य बढेको जनाएको छ । सन् २०१८ मा पहिलो पटक दुई पांग्रे सवारी साधन एसेम्बल गरी व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०१९ बाट तीन पांग्रे सवारी साधनको एसेम्बल सुरु गरेको थियो । कम्पनीले नेपालमा नै बजाज ब्राण्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधनको एसेम्बलिङ गर्दै आएको छ। यो कम्पनी हंसराज हुलाचन्दको सहायक कम्पनी हो । कम्पनीको एसेम्बल प्लान्ट रामग्राममा छ । सन् २०१३ मा स्थापना भएको कम्पनी गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित भइरहेको छ । कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र २० प्रतिशत आकाश गोल्छाको स्वामित्व छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब २१ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९२ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *