इजरायलमा आणविक आक्रमण गर्ने समाचार गलत-पाकिस्तान विदेशमन्त्री दार
इस्लामाबाद । पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गरेका छन् ।
उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो । द एक्सप्रेस ट्रिब्युनका अनुसार सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गरे र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गरे । “पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो”, उनले भने ।
उनले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिए र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहोर्याए । “हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो”, उनले सांसदहरूलाई भने, “हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गरे ।