फेसबुकमा ‘अलविदा’ लेखेका डा. श्रेष्ठ गृहमन्त्रीलाई भेटेर दिए धन्यवाद
काठमाडौं । फेसबुकमा ‘अलविदा’ लेखेर हराएका डा. केशव श्रेष्ठ मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेटिएका छन् । मानसिक दबाब र कामको अन्यायपूर्ण अनुभवको पीडा बोकेर उनी भैंसेपाटीस्थित मन्त्री निवास पुगेका हुन्।
सो भेटमा डा. श्रेष्ठले रामेछाप जिल्ला अस्पतालमा काम गर्दा सहनुपरेको अमानवीय व्यवहार र प्रशासनिक दबाबबारे खुलेर कुरा राखे। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सल्लाह दिएका छन्। डा. श्रेष्ठले दुई वर्षभन्दा बढी रामेछापमा सेवा गरेका थिए। हाल उनी हेटौंडा सरुवा भएका छन्। तर रामेछापमै भएका व्यवहारप्रति असन्तुष्टि जनाउँदै सोमबार फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका थिए।
प्रहरीले उनलाई बालाजुमा सुरक्षित अवस्थामा फेला पारेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भावनात्मक अभिव्यक्तिपछि डा. श्रेष्ठको अवस्था र मनोबलप्रति धेरैको चासो बढेको छ। अहिले उनी मानसिक रुपमा स्थिर र सुरक्षित रहेको जनाइएको छ।