‘देश खालि भएको छैन’
युवाहरू सबै विदेश गए, देश खालि भयो भन्ने बारे आज भोली हरेक चोक, गल्ली, सडक, घर र बस्तीमा निकै चर्चाको विषय बनेको छ। यहाँसम्म त ठिकै थियो नेपालको संसद्मा समेत बहसको विषय वनेको देख्दा पत्तिकार छक्क पर्छ।
हुन त नहोस् पनि कसरी मिडियाका हेडलाईन् त्यही छन्, युवट्युव भरि लाइन लागेर युवाहरू फूल माला लगाइ आफन्त सँग भक्कानिँदै बिदाइ भएका भिडियो मात्रै देखिन्छन्। वास्तवमा हामीले जे देखेका छौँ र जे सुनेका छौँ त्यो भने पटक्कै होइन।
युवाहरू विदेश गएका छन्, नगएका होइनन्, तर युवाहरू केही सिप र आर्थिक रूपले सम्पन्न बनेर आत्मविश्वासका साथ देश फर्किएका पनि छन्। त्यसैले देश खालि भएको छैन, बरु धन, सिप र युवाहरूका भिन्न अनुभवले देशले स्वरूप पनि फेरेको छ।
हो तपाई हामीले समाचार केवल दैनिक २ हजारले देश छोडे भन्ने पढेका छौँ। हामीले युवट्युभरी अध्यागमनको प्रस्थान क्षेत्रबाट सयौँ युवा लाइन लागेर बाहिरिएको मात्रै देखेका छौँ त देश खालि भयो भनेर चोक-चोकमा बहस गर्नु स्वाभाविक हो।
म “देश खालि भयो”, “युवाहरू सबै बिदेसिए” भन्ने हेडलाइन सहितका समाचार बनाउने र भिडियो सार्वजनिक गर्ने मिडिया तथा युवट्युवरहरुलाई चुनौती दिन चाहन्छु। के तपाईँहरूले आगमन कक्षमा गएर सयौँ युवाहरू स्वदेश फर्किएको भिडियो र समाचार बनाउनु भएको छ?
आगमन कक्षबाट बाहिरिँदै गरेका युवाहरूको मुहारको मुस्कान, नयाँ आसा र स्वदेश फर्किँदाको खुसीयाली अनि परिवारसँगको पुनर्मिलन पछिको सुकोमल भावना देखाउन सक्नुभएको छ? खोइ त्यो किन त्यो देखाउन सक्नुहुन्न?
किन की तपाईँहरूलाई सस्तो लोकप्रियताको खाँचो छ। बिकाऊ समाचार चाहिएको छ। युवाहरूलाई विद्रोही र वितृष्णा पैदा गराउनु छ। यसो गर्नुमै तपाईँहरूलाई फाइदा छ भने आगमन कक्षको समाचार बनाएर घाटाको व्यापार किन गर्ने?
त्यसैले म यो भन्न चाहन्छु नेपाल खालि भएको छैन। हजारौँ फुलहरू हुर्किन्छन्, कोपिला बन्छन् र फुलेर जुरमुराए जस्तै, मानिसहरू पनि जन्मिएका छन्, हुर्किएका छन्, अनेकौँ इच्छा आकाङ्क्षा वाकेर, देश विदेश पुग्छन् अनि आफ्नै माटोमा फर्किन्छन्।
फर्किएका सबै खालि हात फर्किँदैनन्। उनीहरूसँग नयाँ अनुभव फर्किएको हुन्छ। आर्थिक रूपमा बलियो बनेर फर्केका हुन्छन्। साथै केही श्रम गर्ने अठोटका साथ विभिन्न सिप लिएर फर्किएका हुन्छन्।
बिदेसी भूमिमा गरेको श्रमले निकै आत्मविश्वासी बनाएको हुन्छ। नेपाल भन्दा कयौँ सम्भावना नै नभएका देश र ठाउँहरूमा पुगेका हुन्छन्। उनीहरूले स्वदेशमै सयौँ सम्भावना देखेर आएका हुन्छन् र हजारौँ युवाहरूले स्वदेशमै धेरै राम्रा काम समेत थालेका छन्।
खोइ यस्ता समाचार बनेका? खोइ उनीहरूको श्रम र सिपले स्वदेशी माटो सिँचिँदै गरेको र आसाका मुनाहरू पलाएका फोटा भिडियोहरू? केवल दैनिक दुई हजारले देश छोडे भनेर, निराशा र असन्तुष्टि पोखेर मात्रै देश बन्दैन।
देश बनाउन हरेक तह र तप्काका मानिसहरूको समानान्तर भूमिका चाहिन्छ। निराशा र हत्तोत्सायिबाट टाढा राख्नु पर्छ। आत्मविश्वास र हौसलाको जग बलियो बन्नु पर्छ। त्यो बनाउने तपाई हामीले हो, अरू कसैले आएर बनाइदिँदैन।
त्यसैले विमानस्थलको प्रस्थान क्षेत्रका फोटो-भिडियो मात्रै हालेर र सयौँ युवाले देश छोडे, देश रित्तियो भनेर समाचार बनाउन बन्द गर्नुहोस्। बरु आगमन कक्षमा पुगेर उनीहरूको खुसी, सिप र आत्माविस्वासका कथा लेख्न सुरु गर्नुहोस्। देश यसै सुन्दर-शान्त बन्ने छ।