रुपन्देहीमा २ अर्ब लगानीमा फर्स्ट च्वाइस फुड्स स्थापना
काठमाण्डौं । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्राइभेट लिमिटेडले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ नामको दुई उत्पादन बजारमा सार्वजनिक गरेको छ । राजधानीमा एउटा कार्यक्रमको आयोजना गर्दै यो उद्योगले ति दुवै उत्पादन बजारिकरणको लागि सार्वजनिक गरेको हो । गुल्मीको मदाने गाउँपालिका–६ घर भई बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा उद्योग सञ्चालनमा ल्याएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगले उत्पादन गरेको फर्स्ट च्वाइस फुड सार्वजनिक गरेका थिए ।
अर्थमन्त्री पौडेलले आलुको आयातलाई घटाउने र देशभित्रै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने उनको प्रतिबद्धता छ । ५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकार उत्पादन गर्दै आएको छ । उद्यमी पौडेलले आलु उत्पादक १० हजार किसान उद्योगसँग जोडिएका जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । अहिले भारतमा समेत उद्योगले आफ्नो उत्पादन निर्यात गरेको उद्योगका सञ्चालक तथा अध्यक्ष पौडेलले जानकारी दिए । आगामी दिनमा यूएई, मलेशिया, साउदी अरेबियालगायतका तेस्रो देशमा निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।