महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ । डिजिटल बैंकिङलाई अझ प्रविधिमैत्री र सहज बनाउने लक्ष्यसहित बैंकले यो सुविधा औपचारिक रूपमा सुरु गरेको हो । अब विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा प्रविष्ट गरेपछि रकम सिधै खातामा जम्मा हुनेछ ।
यसमार्फत १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरुमार्फत पठाइएको रकम सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नयाँ सेवाको सुरुआतसँगै अब ग्राहकले रेमिट्यान्स रकम लिन काउन्टर वा एजेन्टकोमा पुग्नुपर्ने झन्झट अन्त्य हुने, लाइनमा बस्नुनपर्ने र समयको समेत बचत हुने बैंकको विश्वास छ । डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा अग्रणी मानिने महालक्ष्मी विकास बैंक मोबाइल एपमै यस्तो सेवा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज सेवा दिने नीतिअनुसार मोबाइल एप्लिकेसनलाई निरन्तर परिष्कृत गर्दै लैजाने बैंकको प्रतिबद्धता छ ।