संसदमा सांसदले नेपाललाई भाडामा दिऊँ भनेपछि…
काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु जिल्लालाई विदेशलाई लिज (भाडा)मा दिन भनेपछि संसद्मा हंगामा भएको छ।
सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्मा हंगामा भएको हो । सिंहको अभिव्यक्तिमा नेकपा एमाले सांसद महेश बर्तौलाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिएका थिए । एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने समेत बताएका थिए ।
‘देशको नाम तोकेर जिल्ला लिजमा दिने कुरा आपत्तिजनक विषय हो । देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो’ बर्तौलाले भने, ‘मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो। उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौं।’
बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको र बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गर्दै अन्य ७२ जिल्ला अमेरिका, चीन या भारतलाई भाडामा दिन सकिने भनेर बोलेका थिए । उक्त अभिव्यक्तिपछि एमालेका मुख्य सचेतक बर्तौलाले आपत्ति जनाए र पछि सत्तापक्षका सांसदहरुले बोल्न थालेपछि संसद्मा आरोप प्रत्यारोप चलेको हो ।