एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुनेछ । उनले भने, ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर आजै नतिजा प्रकाशित हुन्छ ।’ उनले बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई खबर गरिसकेको बताए ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।