एएफसी एसियन कप छनोट खेलमा सावित्राप्रेरित नेपालको सानदार जित
काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले १००औँ अन्तर्राष्ट्रिय खेलमा कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गोल गरेपछि लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन कप्तान सावित्रा एक्लैले चार गोल गरिन् । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल थपे । नेपालले अर्को एक गोल भने लाओसबाट आत्मघाती उपहार पाएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो ।
आजको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानी जिम्मेवारी सावित्रालाई सुम्पिएका थिए । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन् । लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाईमा उत्रिएकी थिइन् । छनोटमा नेपाली टिम समूह ‘एफ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । छनोटबाट समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।