जोसमा संसारकै पिरो परिकार खाँदा

बेलायतको लन्डनस्थित एक रेस्टुरेन्टले पकाउने एक विशेष परिकारले एकजना युवकलाई झण्डै अस्पताल पुर्‍याएको छ । संसारकै सबैभन्दा पीरो भनिएको उक्त तरकारी (करी) खान गएका ती युवक एक गाँस मात्रै खाने बित्तिकै गम्भीर अवस्थामा पुगे । पिरो परिकारले बेहाल बनेका ती युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । लण्डनको ब्रिक लेनस्थित बंगाल भिलेज नामक उक्त रेस्टुरेन्टले ७२ प्रकारका मसलाहरू प्रयोग गरेर तयार पारेको भनिएको उक्त विशेष तरकारी परिकारलाई विश्वकै सबैभन्दा मसलेदार तथा पिरो परिकार भएको दाबी गरिएको छ। त्यसैले उक्त रेस्टुरेन्टले सो परिकारको स्वाद लिन चाहने ग्राहकहरूलाई आफ्नै जोखिम तथा जिम्मामा रहेर सो खानेकुरा खाने व्यवस्था गरेको छ। अर्थात् उक्त पीरो परिकार खाँदा कुनै ग्राहकलाई केही भैहालेमा त्यसबाट रेष्टुरेन्ट जिम्मेवार हुनेछैन । उक्त परिकारको एक प्लेटको मूल्य करिब २१.९५ पाउण्ड अर्थात करीब २५ सय रुपैयाँ पर्दछ। तर, यदि कुनै ग्राहकले १५ मिनेटभित्रमा सो एक प्लेट करी सकाएमा पूरै बिल छुट गरिन्छ। तर, सित्तैमा खान पाइन्छ भनेर भटाभट यो परिकार खाँदा ज्यानै जोखिममा पर्नसक्छ। त्यसैले रेष्टुरेन्टले आफ्नो वेबसाइटमा लेखेको छः यो परिकारले तपाईंलाई स्तब्ध पार्न सक्छ। यसको असरका लागि हामी जिम्मेवार हुने छैनौं। डेली स्टारमा प्रकाशित समाचार अनुसार हालै ड्यानियल नामका एक युवक उक्त परिकार चाख्ने मनसुवा लिएर उक्त रेष्टुरेन्ट पुगेका थिए। त्यसपछि उनलाई रेष्टुरेन्टका कर्मचारीले एक प्लेट करी पस्किए। जब उनले उक्त परिकार केवल एक चम्चा मात्रै के मुखमा हालेका थिए उनको अनुहार रातोपिरो भयो। उनका चिटचिट पसिना आउन थाले र केहीबेरमै सडकको छेउमा लड्न पुगे। ड्यानियलको अवस्था बिग्रिएपछि रेस्टुरेन्टका मालिकले ड्यानियललाई आँपबाट बनाइएको विशेष लस्सी पिउन दिए। आफू डाक्टर नभए पनि पिरो खानाले जलन भएका व्यक्तिका लागि लस्सीले घाँटी, कलेजो र भित्री अंगलाई शान्त बनाउने कुरा आफूलाई थाहा भएको उनको दाबी थियो । उक्त भयानक पीरो परिकारमा क्यारोलिना रीपर, स्कच बोनट, नागा, बर्ड्स आइ चिली, र बंगलादेशको स्नेक चिली जस्ता विश्वकै पीरा खुर्सानी मिसाइएका छन्। यिनको सम्मिश्रणले यो परिकारलाई असाधारण रूपमा पीरो बनाएको छ। विज्ञका अनुसार, अत्यधिक पीरो खानाले शरीरमा तत्कालीन तथा दीर्घकालीन रुपमा विभिन्न गम्भीर असर पार्ने जोखिम हुन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *