थापाथलीमा प्रोटोन इमासको भव्य शोरुम उद्घाटन
काठमाण्डौं । विद्युतीय सवारी साधनप्रति नेपाली बजारमा बढ्दो आकर्षणका बीच शंकर ग्रुपको जगदम्बा मोटर्सले ‘प्रोटोन इमास’को नयाँ शोरुम थापाथलीमा भव्य रूपमा उद्घाटन गरेको छ । शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा कार्यकारी निर्देशक गुप्ताले यो शोरुम कम्पनीको रणनीतिक विस्तार योजनाअन्तर्गतको पहिलो कडी भएको बताएका छन् । “हामीले आगामी वर्ष २५ वटा प्रोटोन इमास शोरुम खोल्ने योजना बनाएका छौं, सबै शोरुमहरू कम्पनीकै स्वामित्व र व्यवस्थापनमा रहनेछन्”, गुप्ताले बताए ।
गायक श्रेष्ठले इमास मोडेलप्रतिको आफ्नो अनुभव सुनाउँदै यसलाई उत्कृष्ट परिवारिक गाडीको संज्ञा दिए । “ड्राइभिङ अनुभव एकदमै सहज र सुखद छ, यो गाडी साँच्चै विद्युतीय गाडीको अनुभव दिन्छ । कार्यक्रममा कम्पनीले सातवटा प्रोटोन इमास सवारीसाधन नयाँ ग्राहकहरूलाई हस्तान्तरण गरेको थियो । ब्रान्डकी नयाँ ग्राहक अभिनेत्री केकी अधिकारीले गाडीप्रति उत्साह व्यक्त गर्दै भनिन्, “म यो गाडी चलाउने बित्तिकै प्रभावित भएँ र नेपालमा शंकर ग्रुपले ल्याएको थाहा पाएपछि किन्ने निर्णय गरेँ । उक्त उद्घाटन कार्यक्रमले प्रोटोन इमास ब्राण्डप्रति नेपाली बजारमा बढ्दो विश्वास र विद्युतीय सवारीका लागि बनिरहेको वातावरणलाई थप ऊर्जा दिएको देखिएको छ ।