लेखनाथ गैरेले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । बुटवलका लेखनाथ गैरेले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुटवल–१९ मोतिपुरका गैरेले आज पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । निर्वाचन आयोगले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकिसकेको छ । गैरेले विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिई स्वतन्त्र रहेकाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन् । राज्यका हरेक निकायमा चरम राजनीतिकरण हुँदा नागरिकमा वितृष्णा बढेकाले सुशासन दिने राम्रा कानून बनाउन, वजेटको न्योचित र समानुपातिक वितरणका लागि स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने गैरेको तर्क छ । २०५० सालदेखि बुटवलमा बस्दै आएका गैरले आफू क्षेत्र नं ३ को स्थानीय भएकाले यहाँका सबै वर्ग र समुदायका समस्यासंग जानकार रहेको बताए ।
गैरेले गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रुपन्देही ३ मा तिनाउ नदीमा स्थानीय तहहरुले लगाउने ठेक्कामा हरेक वर्ष करोडौं रुपैयाँको ढुंगा गिटी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेण्डा रहेको बताए ।