‘नेसनल युथ फेस्टिभल’ को दोस्रो संस्करण असार २८ गते काठमाडौंमा हुने
काठमाडौं । ‘नेसनल युथ फेस्टिभल’ को दोस्रो संस्करण असार २८ गते काठमाडौंमा हुने भएको छ । देश छाडेर विदेश जाने योजना बनाइरहेका युवाहरूलाई ‘देशमै अवसर छन्’ भन्ने सन्देश दिन र नेतृत्व विकास, सकारात्मक सोच तथा उद्यमशीलताको भावना जगाउने उदेश्यले कार्यक्रम गर्न लागिएको हो । गत वर्षबाट सुरु भएको यो उत्सवले युवाहरूमा सकारात्मक असर पारेको भन्दै यस वर्ष दोस्रो संस्करण गर्ने तयारी भएको आयोजकले जनाएको छ । मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी एमआइटी , सुनौलो नेपाल, परिवर्तनका लागि, वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडीएस) को संयुक्त आयोजनामा असार २८ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हुन लागेको हो । अध्ययन, रोजगारी वा बसोबासको सपना बोकेर लाखौं युवा हरेक वर्ष देश छाडिरहेका छन् । नेपालका अधिकांश युवाले आफ्नो भविष्यको कल्पना विदेशमा गर्छन् । सरकारी तथ्याङ्क अनुसार प्रत्येक दिन हजारौं युवाले श्रम स्वीकृति लिइरहेका छन् भने उच्च शिक्षाका लागि समेत विदेशिन चाहनेको संख्या उस्तै छ । यस्तो अवस्थामा, युवाको ध्यान स्वदेशमै केन्द्रित गर्न नेसनल युथ फेस्टिभलले केही हदसम्म सम्बोधन गर्न थालेको आयोजकहरूको दाबी छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणमा डा. सन्दुक रुइत, गायिका आनी छोइङ डोल्मा, पर्वतारोही विजय लामा जस्ता प्रेरणादायी व्यक्तित्वको सहभागिता थियो । कार्यक्रमपछि सामाजिक सञ्जालहरूमा सहभागी युवाहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । जसकारण यो वर्ष संस्करणलाई अझ व्यापक बनाउने योजना रहेको रहेको छ ।
दोस्रो संस्करणमा यो वर्ष अनुराधा कोइराला, डा. भगवान कोइराला, चन्द्रप्रसाद ढकाल, मनोज ज्ञवाली, सुरक्षा पन्त, रुपेश्वर गौर दास, सोभनवीर मालाकार लगायतले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन् । कार्यक्रममा संगीत पनि उत्तिकै आकर्षणको हिस्सा हुनेछ । सबिन राई एन्ड द फारो तथा द एलिमेन्ट्स जस्ता लोकप्रिय ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन् । एमआईटीका सह संथापक आर. के. दाहाल सकारात्मक दृष्टिकोणले नै युवालाई ऊर्जा, आशा र प्रेरणा दिने भएकाले सकारात्मक परिवर्तनको उद्देश्यले यो कार्यक्रम गरिएको बताउँछन् । युथ फर चेन्जका अध्यक्ष हिमाल विष्टले भन्छन्,‘ हामी विदेश नगई देशमै अवसर खोज्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं । कार्यक्रमको मूल मर्म यही हो, युवा परिवर्तनका संवाहक हुन् भन्ने देखाउनु र उनीहरूलाई स्वदेशमा भएका सम्भावनाहरूको अनुभव गराउन यो कार्यक्रमको सुरु गरेका हौं ।’ कक्षा १२ सकेर उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर आयोजना गनि लागेको कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुने जनाइएकोछ । कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले निःशुल्क टिकट प्राप्त गर्न अनलाइनमार्फत पूर्वदर्ता गर्नुपर्नेछ ।