अपडेट- रसुवाको भोटेकोशी बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढी पहिरोमा परी १८ जना बेपत्ता भएको समेत बताइएको छ । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा पनि रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् । यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् ।

यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएको बताइएको छ । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौँज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस अघि –हिजो सोमबार गएराति रसुवाको गोसाईंकुण्ड–२ स्थित रसुवागढीमा आएको आकस्मिक बाढीले ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।

चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो सम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ, जसले गर्दा दुई देशबीचको सवारी र मालबस्तुको आवागमन ठप्प भएको छ।

भोटेकोशीको बाढीले मितेरी पुलसँगै भन्सार यार्डमा रहेका १००ं गाडी बगाएको छ। रसुवागढी हाइड्रोपावर ड्याम, चार्जिङ स्टेसन र स्याफ्रुबेँसी सडक समेत क्षतिग्रस्त भएका छन्। आजका लागि सबै भन्सार गतिविधि बन्द गरिएको भन्सार विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तिब्बततर्फको हिमताल फूट्दा बाढी आएको हुनसक्ने प्रारम्भिक आकलन छ। विभागले तस्बिर विश्लेषण गर्न उपग्रहबाट आकस्मिक अनुगमन सुरु गरेको छ। त्रिशूली नदी क्षेत्र र वेनिघाटसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *