क्यान महासंघ र नेपाल चेम्बरबीच आईटी समझदारी
काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने दीर्घकालीन लक्ष्यसहित गरिएको यो समझदारी ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको छ । समझदारी हस्ताक्षर कार्यक्रम क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवालको विशेष उपस्थितिमा सम्पन्न भयो । समझदारीपत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र एनसीसी आईटी समितिका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सहकार्यको अवधारणा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको पहल र दूरदृष्टिमा आधारित छ । उनले नेपालको आईटी उद्योगमा दीर्घकालीन र दिगो इकोसिस्टम निर्माणका लागि साझा संस्थागत प्रयासको खाँचो रहेको बताउँदै आएकोमा यस समझदारीमार्फत त्यो प्रयास औपचारिक रूपमा अघि बढाइएको हो । समझदारीको मुख्य उद्देश्य नेपालमा सूचना प्रविधिको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतामा वृद्धिका लागि नीति निर्माण, लगानी प्रवर्द्धन, नेटवर्किङ, जनसरोकार र सदस्यता अभिवृद्धि जस्ता कार्यहरूलाई साझा रुपमा अगाडि बढाउनु हो । दुवै संस्थाले यी क्षेत्रहरूमा संयुक्त कार्यक्रम, संवाद र पहलमार्फत आईटी इकोसिस्टमलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । नीति निर्माणतर्फ, क्यान र एनसीसीले नेपाल सरकारसँग संयुक्त रुपमा डिजिटल रूपान्तरणका लागि आवश्यक नीति सिफारिस, नियम तथा कार्यान्वयनको खाका प्रस्तुत गर्नेछन् । रचनात्मक नीति संवादका माध्यमबाट निजी क्षेत्रको दृष्टिकोण सरकारसमक्ष पुर्याउने उद्देश्य राखिएको छ । लगानी परिचालनका पक्षमा समझदारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्न संयुक्त प्रवर्द्धनात्मक गतिविधिहरू गर्नेछ। नेपाललाई दक्षिण एशियामा एक नवप्रवर्तनशील आईटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । आईटी स्टार्टअप, पेशेवर र व्यवसायहरूबीच सहकार्य तथा ज्ञान आदान–प्रदानको वातावरण सिर्जना गर्न हरेक ६ महिनामा संयुक्तरूपमा फोरम, सम्मेलन तथा प्राविधिक कार्यक्रम आयोजना गरिनेछ । यसले नेटवर्किङको अवसर मात्रै होइन, व्यावसायिक सशक्तिकरणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । साझा ब्रान्डिङ र दृश्यता अभिवृद्धिका लागि दुवै संस्थाले एकअर्काको प्रदर्शनी, कार्यक्रम तथा सम्मेलनहरूमा लोगो र पहिचान समावेश गर्ने छन् । यसले संस्थागत सशक्तिकरण र सार्वजनिक संलग्नतालाई नयाँ स्तरमा पुर्याउनेछ । साथै, आईटी पेशेवर, उद्यम र नवप्रवर्तनकर्तालाई दुवै संस्थाको सदस्यता लिन प्रेरित गर्ने योजना पनि यो समझदारीले समेटेको छ। सदस्यता लिनेले स्रोत, एक्सपोजर र समुदायको समर्थन प्राप्त गर्न सक्नेछन् । समझदारीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दुवै संस्थाले आ–आफ्नो संयोजक नियुक्त गर्नेछन् । ती संयोजकहरूले कार्यक्रमको योजना, कार्यान्वयन र अनुगमनको जिम्मेवारी लिने छन् । प्रत्येक तीन महिनामा प्रगतिका समीक्षात्मक बैठकहरू आयोजना गरिनेछ । यो समझदारी आजैदेखि तीन वर्षका लागि लागू हुनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिनेछ । डिजिटल अर्थतन्त्रमा नेपालको भविष्य सुरक्षित गर्न यो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्स आईटी समितिबीचको यो रणनीतिक सहकार्यले नेपाललाई नवप्रवर्तन, नीति, लगानी र समावेशी विकासका दृष्टिले एक अग्रणी सूचना प्रविधि राष्ट्र बनाउने दिशामा सशक्त पाइला टेकेको छ ।