चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था झन् गम्भीर बन्दै गएको छ : नाइमा
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ । चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था झन् गम्भीर बन्दै गएको नाइमाको भनाइ छ । एक विज्ञप्तिमार्फत बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी छन् । उनका अनुसार नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन यही नाका हुँदै आयात हुने गर्छन् ।
तर पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्, विज्ञप्तिमा उल्लेख गरिएको छ, यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ । नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने माग गरेको छ । संगठनले तात्कालिक अवस्थालाई व्यवस्थापन गर्न आवश्यक समन्वय, सुझाव वा सहयोग गर्न आफू सधैं तत्पर रहेको जानकारी समेत दिएको छ ।