राष्ट्रिय कृषि कम्पनी र श्रीलंकाको सिआईसि एग्रि बिजनेसबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलङ्काको प्रतिष्ठित बहुराष्ट्रिय कृषि कम्पनी सि.आई.सि एग्रि विजनेसबीच एक समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा राष्ट्रिय कृषिका तर्फबाट कार्यकारी अध्यक्ष बिशाल हुमागाईं र सि.आई.सिका तर्फबाट उप–प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि दुबै पक्षले नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्तिको उचित प्रणालीको विकास गर्ने भएका छन् । यसका साथै प्रविधिको हस्तान्तरण, अध्ययन र अनुसन्धान गर्ने, कृषिमा आधुनीकिकरण गर्दै उत्पादन बृद्धिमा लाग्ने भएका छन् । यस्तै, कृषकको लागि कृषक सशक्तिकरण र तालिम आदान प्रदान गर्ने, व्यावसायीक अवसहरुको पहिचान गर्ने र दुबै देशबीचमा कृषि व्यवसायको बिस्तार गरिने भएको छ । दुबै संस्थाबीचको समझदारीले कृषिको विकास र समृद्धि, दुबैमा प्रविधिको पहुँच र कृषकको सशक्तिकरणका लागि नयाँ युगको थालनी गर्ने विश्वास लिईएको छ ।
कम्पनीहरूको परिचयः
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड
सन् २०२४ को सुरुवाततीर विशाल हुमागाँई लगायत २६ जना मिलेर स्थापना भएको यो कम्पनी एक बहुआयामिक कृषि पब्लिक कम्पनी हो, यसले कृषि ई–कमर्स, डिजिटल सेवा प्रणाली, चिस्यान गृह, कृषक सशक्तिकरण, कृषि पर्यटन, खाद्य प्रशोधन, र नवप्रवर्तनमा आधारित परियोजनाहरू सञ्चालनको उद्देश्य राखेको छ । कम्पनीको दिगो लक्ष्य नेपाललाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउनु हो, जहाँ उत्पादकदेखि उपभोक्ता सम्मको सम्पूर्ण मूल्य श्रृंखला डिजिटल माध्यमबाट जोडिएको छ । १ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल ६० करोड माथि चुक्ता पूँजी रहेको छ ।
CIC Agri Businesses Pvt. Ltd, Sri Lanka:
CIC (Chemical Industries Colombo PLC) www.cic.lk को सहायक कम्पनी CIC Agri Businesses Pvt.Ltd. श्रीलङ्काको सबैभन्दा पुरानो र ठूला एकीकृत कृषि कम्पनीहरू मध्येको एक हो । CIC को स्थापना सन् १९६४ मा भएको हो, जसले ६ दशकभन्दा बढी समयदेखि श्रीलङ्काको कृषि विकासमा निर्णायक भूमिका खेलेको छ । CIC ले बीउ उत्पादन, प्राकृतिक र रासायनिक मल निर्माण, प्रविधि हस्तान्तरण, पशुपालन, अनुसन्धान प्रयोगशाला सञ्चालन, र शिक्षा तथा तालिम लगायतका क्षेत्रमा प्रमुख उपस्थिति जनाउँदै आएको छ । कम्पनीसँग २०,०००ं कृषकहरूसँग प्रत्यक्ष सम्पर्क छ र श्रीलङ्काभर एकीकृत वितरण प्रणाली कार्यान्वयनमा रहेको छ ।
समझदारीको उद्देश्य र सम्भावनाः
यस सम्झौता मार्फत दुवै पक्षले निम्न क्षेत्रहरूमा रणनीतिक साझेदारीको खोज गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्ति प्रणाली विकास
प्रविधि हस्तान्तरण तथा अनुसन्धान सहयोग
कृषि इनपुटको आधुनिकीकरण र उत्पादन वृद्धि
कृषक सशक्तिकरण कार्यक्रम र तालिम आदान–प्रदान
व्यापारिक अवसरहरू पहिचान गरी दुबै देशबीचको कृषि व्यापार विस्तार
यो समझदारीपत्रले दुवै देशको कृषि समृद्धि, प्रविधिको पहुँच र कृषक सशक्तिकरणमा नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ ।