रास्वपा र राप्रपाद्वारा आजपनि संसदको बैठक बहिष्कार
काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग बेवास्ता गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिष्कार जारी रहने जानकारी दिइन्। उनले सरकारलाई “स्वार्थ बाझिने” रूपमा सामान्य प्रशासनिक समिति गठन गरेर विषय ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाइन् । त्यसैगरी राप्रपाकी सांसद अनिशा नेपालीले पनि सरकारको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोऱ्याइन्। उनले देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित नागरिकलाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराइन्।
गौतम र नेपालीले आ-आफ्ना धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । यतिबेला बैठक भने जारी रहेको छ ।
प्रतिनिधिसभा लाइभ