कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल, माओवादीद्वारा प्रधानमन्त्रीको जवाफ माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्था मन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुख मार्फत ।’
यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु,’ शर्माले भनिन् ।