संसदमा सुमनाको प्रश्नमाथि प्रश्न- प्रधानमन्त्रीको जवाफ माग देखि मन्त्री गुप्ताको अडियो काण्डसम्म
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ,’ सांसद श्रेष्ठले भनिन् । उनले भनेकी छन्, ‘हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो-कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’ तथापि बिचौलियाहरू किन डराइरहेका छैनन् भन्ने उनको प्रश्न छ । ‘सबैभन्दा दुखको कुरा चाहिँ- सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच । कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र संलग्नहरूमा पलाएको हो ?,’ सुमनाको प्रश्न छ ।
२०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह-सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् । उक्त प्रतिवेदनले गृह मन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भनेर सरकारको ध्यानाकर्षण गरिन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केही फरक नरहेको उनले बताइन् । सांसद श्रेष्ठले थप्दै भनिन् “मन्त्रीहरूकै बीच सेटिङ हुन्छ भने कानुन बनाउने काम कसका लागि हो ? कस्का हितका लागि संसद चलेको छ ?”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको अडियो प्रकरणले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ। अडियोमा सुन्न सकिने “सेटिङ”, “मान्छे मिलाउने”, र “कानुन पास गराउने” कथित संवादबारे छानबिनको माग गर्दै रास्वपाले संसदमा आवाज उठाएको छ । अडियोमा कास्की मालपोत कार्यालय र जिल्ला भूमि आयोगमा नियुक्ति मिलाउन ‘सेटिङ’ गरिएको, साथै भूमि विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न खोजिएको भनाइप्रति श्रेष्ठले प्रश्न उठाइन्। “आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन – यो लोकतन्त्र हो कि निजी कम्पनी ?” उनले संसदमा भनिन्।
श्रेष्ठले अडियोमा उल्लेखित अस्पष्ट पात्रहरू — ‘बा’, ‘दुई तिहाइ’, ‘तागत’ — को पहिचान माग गरिन्। “दुई तिहाइ भनेको के अब मिलेर भागबन्डा गर्न हो ?” उनले जनताको विश्वासमाथि गम्भीर चोट पर्नेगरी मन्त्रीहरूकै संलग्नता देखिनु दुःखद भएको बताइन्। यो प्रकरण केवल एक मन्त्रीको अडियो विवाद होइन, यो राज्यको नीति निर्माण प्रक्रियामा भएको सम्भावित हस्तक्षेप र गम्भीर नैतिक विचलनको संकेत हो। यदि मन्त्रिमण्डलभित्रै ‘सेटिङ’ को भाषा चल्छ भने सार्वजनिक सेवा प्रणाली कति निष्पक्ष होला ? उनले प्रश्र गरिन् ।
सांसद श्रेष्ठले प्रश्नमाथि प्रश्न गरेकी छन्, ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ? पहिला पनि यस्तै अडियो काण्ड घटेको थियो – यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यहि दुई तिहाइ भनेको मिलिजुली भाग खानकालागि हो ? कसको तागतको भरमा, कसको संस्कारमा ? के फरक भयो त यी वर्षहरूमा ? जनताले के पाए ? उनले भनेकि छन् ।