श्री बाराही साकोसले मनायो २७ औं स्थापना दिवस सम्पन्न
भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि को २७औं स्थापना दिवस तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत भएको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको वित्तीय संकुचन बलियो भइ यस्तो असहज परिस्थितिमा पनि लाभान्स दिन सक्ने गरि नाफामा वृद्धि गरि खराव ऋणलाई न्यूनीकरण गर्न सक्नु संस्थाको उपलब्धी भएको बताए । उनले संस्थाले तरलता व्यवस्थापनका साथै नियमित मासिक बचतमा विशेष जोड दिने गरेको भन्दै सबै सहकारीले यस्तो सुशासनका पक्षलाई अंगाल्दै अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद सुवालले असार महिना सम्मको यथार्थ आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्ष देखि नै संस्थाले रणनीतिक योजना तय गरि संस्था संचालनमा भइ रहेको बताए । उनले आगामी वर्षहरुका लागि पनि चालु आ।व। २०८२।०८३ देखि लागु हुने गरि ८औं ४ वर्षे व्यवसायिक रणनीतिक योजना तयार गरेको उल्लेख गरे ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेका विभिन्न सामाजिक क्रियाकलापका साथै सदस्य समुदायलाई दिइ रहेको सेवा सुविधाहरुवारे समेत यस वर्ष सामाजिक परिक्षण गर्ने जानकारी गराएको थियो । स्थापना दिवसमा प्रमुख अतिथिले संस्थाका संस्थापक २६ जनालाई सम्मान, नियमित मासिक बचत कर्ताहरु मध्ये मासिक एकजनाका दरले १२ महिनाको १२ जना नियमित बचत कर्ता र १२ जना बाल बचत कर्तालाई सम्मान स्वरुप मायाको चिनो र प्रशांसा पत्र समेत प्रदान गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । रक्तदान जीवनदान भन्ने नाराका साथ संचालित उक्त कार्यक्रममा बोल्दै राधेश्याम सुवालले रक्तदान कार्यले पुनजीवन दिने भएकाले यसलाई जीवनदान भनिएको जनाए । उक्त स्थापना दिवस कार्यक्रममा सभापति सुवालले संस्थाको स्थापनाका दिन श्रावण ४ गतेलाई जन्म दिनको रुपमा स्मरण गर्दै यस स्थापना दिवस सोहि दिनमा गरेको र निरन्तर रुपमा गरिन्दै जाने कुरा व्यक्त गर्दै परोपकार नै महान् पुण्य हो भन्ने भावना राखेर यस रक्तदान कार्यक्रम पनि राखिएको बताए । उनले मन, वचन, र कर्मले सबैजना रक्तदान जस्तो महान कर्ममा लाग्न उत्प्रेरित गरे । उक्त कार्यक्रममा सरिक २२ जनालाई जीवन बचाउनका लागि रक्तदान गरेका रक्तदातालाई प्रमाणपत्र समेत प्रदान गर्दै रक्तदाताहरु लगायत कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण संस्थापक, सदस्य, पदाधिकारीहरु र व्यवस्थापनका कर्मचारीलाई धेरै धेरै धन्यवाद व्यक्त गरेको थियो । स्थापना दिवस कार्यक्रम संचालक पुनेन्द्रप्रसाद कुसीले गरेको उक्त स्थापना दिवसमा उपाध्यक्ष बलराम प्रजापति, संस्थापक प्रतिनिधि पुण्यकृष्ण भुजु, लेखा सुपरिवेक्षण समितिका संयोजक वालकृष्ण नागा समेतले आफ्नो मन्तब्य राखेका थिए ।