एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट विहान ६ः३० बजे सुरु गरिएको प्रभातफेरी कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डहरूसहित बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । त्यसै दिन, बैंकले मेची प्रादेशिक अस्पताल भद्रपुर र नेपाल अपाङ्ग संघ, झापा शाखाका बिरामीहरूलाई फलफूल वितरण गर्ने समाजिक उत्तरदायित्व कार्यक्रम पनि सञ्चालन गरेको थियो ।
यस अतिरिक्त, बैंकका सबै शाखा कार्यालयहरूले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई चकलेट वितरण गर्दै उत्सव मनाएका थिए । २० वर्षको यात्रामा झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ स्थानमा शाखा विस्तार गरिसकेको बैंकले अब कोशी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले स्थापनाकालदेखि अहिलेसम्म साथ र सहयोग गर्ने संस्थापक, सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।