कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ दर्शकमाझ

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रले पछिल्लो समय निरन्तर नयाँ प्रयोग र सिर्जनाहरू प्रस्तुत गरिरहँदा निर्देशक उत्तम केसीले नयाँ कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ लिएर दर्शकमाझ आएका छन्।

चुईचुई पारेर टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो सिरियलको पहिलो भाग हालै दर्शकमाझ आइपुगेको छ, जसले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न पनि सफल भएको छ । सामाजिक यथार्थ, दाम्पत्य जीवनका आरोह-अवरोह र समाजभित्र लुकेका सन्दर्भहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको यस सिरियलमा कमल प्रसाद भट्ट, उत्सव केसी, पवित्रा कुँवर र आयुष दाहाल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूले श्रीमान–श्रीमतीबीचको माया, झगडा, मिलन र दैनिक जीवनका विभिन्न पक्षलाई रोचक तरिकाले पर्दामा उतारेका छन्।

दुर्गा केसी र दुर्गा भण्डारीले सिरियललाई संयुक्त रुपमा निर्माण गरेका छन् भने सुमन फुयाल कार्यकारी निर्माता हुन् । छायांकनमा ज्ञान कुमार कटेल, सम्पादनमा साजन घले, र निर्माण व्यवस्थापनमा किरण केसीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । निर्देशक उत्तम केसीका अनुसार, “सिरियलले केवल हँसाउने मात्र होइन, समाजमा रहेका परिवारभित्रका संवादहीनता, व्यवहार, अनि सम्बन्धहरूका गहिरा पक्षहरूलाई पनि दर्शकसामु ल्याउने प्रयास गरिएको छ।” हास्यरसमा आधारित भए पनि सिरियलले समाजमा सन्देश दिन समेत छुट्टै शैली अपनाएको छ ।

श्रावण ६ गतेदेखि सार्वजनिक यस सिरियल हरेक मंगलबार चुईचुई परेर टिभी युट्युब च्यानलमा नियमितरूपमा हेर्न सकिनेछ भने पहिलो भाग हेरेपछि धेरै दर्शकहरूले कथावस्तु, अभिनय र संवादशैलीको प्रशंसा समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *